माधवकुमार

एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आपूर्ति व्यवस्था सहज बनाउने काममा सहयोग गर्न भारतसंग आग्रह गरेका छन् ।  केही दिनयता भइरहेको अघोषित नाकावन्दीले  समस्या बढीरहेका अवस्थामा नेता नेपालले सार्वभौम मुलुकको पारवहन अधिकारको सम्मान गर्नसमेत भारतको ध्यानाकर्षण गराएका छन् । 'सार्वभौम मुलुकको पारवहन अधिकार दृष्टिबाट पनि आपूर्ति व्यवस्था निर्वाध रुपमा सञ्चालन  हुनुपर्छ' एमाले प्रचार विभागद्वारा आयोजित अन्तक्रिर्यामा नेता नेपालले भने, 'सिमा क्षेत्रमा ढुवानीमा देखिएको अवरोध अबिलम्ब हटाउन, निर्वाध रुपमा आवागमनको व्यवस्था सूचारु गर्न र आपूर्तिको व्यवस्था सहज बनाउने काममा सहयोग गर्न भारत सरकार लगायत सबैमा आग्रह गर्छु ।'
 उनले संविधान अमुर्त दस्तावेज नभएको उल्लेख गर्दै वार्तामा बसेर सहमति खोज्न मधेसी दलहरुलाई आग्रह गरे । संविधानमा भएका मुल्यमान्यता र व्यवस्थाहरुलाई राम्रसंग अध्ययन गरेर त्यसका  आधारमा धारणा बनाउन नेपालले आग्रह गरेका छन् । आफूले पनि तराई मधेसकै प्रतिनिधित्व गर्ने उल्लेख गर्दै इतिहासदेखि उत्पीडन र भेदभावमा परेका जनतालाई पहिलोपटक यही संविधानले अधिकार दिएको नेपालले बताए । 'आज तराई-मधेसमा आन्दोलन गरिएको छ । सरकारी सम्पत्ति देखि नेकपा -एमाले) लगायत विभिन्न दलका कार्यालय र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण, तोडफोड, आगजनी र लुटपाटसमेत गर्ने जस्ता निन्दनीय काम भएका छन्' नेपालले भने,'मधेसी जनतालाई अधिकार दिइएन भन्ने हौवा खडा गरेर त्यसैका आधारमा जनतालाई उत्तेजित पार्ने कोसिस भएको छ ।' संविधानले कुनै पनि अर्थ र प्रसंंगमा यसले मधेसका जनतामाथि भेदभाव नगरेको बताए । नागरिकता, प्रतिनिधित्व लगायतका बिषयमा गलत भ्रम फैलाइएकोले त्यसमा विश्वास नगर्न उनले आग्रह गरे ।
'नाकाबन्दी गरेर, साम्प्रदायिक सद्भाव विथोलेर, अवाञ्छित तत्वहरुलाई खेल्ने मौका दिएर समयको बर्बादी गर्न जरुरी  छैन । कुनै एउटा भू-भागमा बस्ने जनताले अर्को भू-भागमा बस्ने जनताका विरुद्धमा आन्दोलन गर्ने, उनीहरुलाई प्रताडित गर्ने, मुलुकलाई नै संकटमा धकेल्ने गरी नाकाबन्दी गर्ने जस्ता कुराले कसैको पनि भलो गर्दैन' नेता नेपालले भने,'मधेसमा अहिले जे भइरहेको छ, त्यसले राम्रो सन्देश दिइरहेको छैन । आन्दोलन सञ्चालन गर्ने दलहरुले त्यस्ता अवाञ्छित गतिविधिहरु तुरुन्त बन्द गर्नुपर्छ वा बन्द गर्न सक्दैनन् भने आफूलाई त्यसबाट अलग राख्नुपर्छ ।'
कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेलले छिमेकीद्वारा ज्यादती र पीडा थोपरिएको उल्लेख गर्दै त्यसका विरुद्ध सजग हुनुपर्ने बताए । उनले नाकाबन्दीको कुरा उठाउदै विश्व व्यापार संगठन, संयुक्त राष्ट्रसंघ, सार्क लगायतका सदस्य भएको मुलुक भएकाले त्यसअनुसार व्यवहार हुनुपर्ने उल्लेख गरे । 'हाम्रा गतिविधिमा कुनै अवरोध आउछ भने हामी प्रतिवाद गर्न तयार छौ' महासचिव पोखरेलले भने । उनले मंगलबार हुने राष्ट्रिय कार्यकर्ता भेलाबाट एमालेले संविधानका बिषयहरु बुझाउन जनता समक्ष परिचालिन हुने जानकारी दिए । एमालेका अगुवा कार्यकर्ताको राष्ट्रिय कार्यकर्ता भेला मंगलबार हुनेछ । त्यहा नेताहरुले  प्रशिक्षण दिनेछन् ।