संविधानसभाको अत्यधिक मतबाट बुधबार नयाँ संविधान पारित भएको छ ।

भाद्र ३१, २०७२- संविधानसभाको अत्यधिक मतबाट बुधबार नयाँ संविधान पारित भएको छ । नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत संविधान निर्माण गर्न ६५ वर्षदेखि पाल्दै आएको सपना अहिले पूरा भएको हो ।  ‘नेपालको संविधान’ असोज ३ बाट लागू हुनेछ । उक्त दिन संविधानसभाले आयोजना गर्ने राष्ट्रिय समारोहमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणीकरण गरेको संविधान राष्ट्रपति रामवरण यादवले जारी भएको घोषणा गर्नेछन् ।
 वि.सं. २००४ को वैधानिक कानुनबाट सुरु भएको नेपालको संवैधानिक इतिहासमा यो छैटौं संविधान भए पनि सार्वभौम नेपाली जनताका तर्फबाट जारी हुन लागेको यो पहिलो सर्वोच्च कानुन हो । ‘जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको यो संविधान नेपालको संवैधानिक इतिहासमा अतुलनीय छ,’ संविधान पारित गरेको बैठकपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने, ‘अन्तरवस्तुका दृष्टिले यो सबभन्दा बढी प्रगतिशील र जनतामैत्री छ ।’
संविधान निर्माणसँगै तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको दसवर्षे सशस्त्र संघर्ष अन्त्य गरी २०६३ बाट सुरु भएको शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुगेको छ । नयाँ संविधानले राष्ट्र निर्माणदेखि नै कायम रहेको एकात्मक शासन प्रणालीको अन्त्य गरी सात प्रदेशको संरचनासहित संघीय शासन व्यवस्था स्थापित गरेको छ ।
नयाँ संविधानले २०६५ जेठ १५ देखि कार्यान्वयनमा आएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ । जनआन्दोलन २०६२/६३ बाट पुन:स्थापित प्रतिनिधि सभाले जेठ ४ को घोषणामार्फत तत्कालीन राजसंस्थाका सम्पूर्ण अधिकार कटौती गरेपछि गणतन्त्र स्थापनाको प्रक्रिया सुरु भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा सहभागी हुन तत्कालीन माओवादीले सर्तका रूपमा अघि सारेपछि अन्तरिम संविधान संशोधनमार्फत घोषणा गरिएको गणतन्त्रको कार्यान्वयन २०६४ मा निर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले गरेको थियो ।
संविधानका विशेषताहरु यस्ता छन् :
–    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था
–    सार्वभौम र राजकीय सत्ता जनतामा
–    सात प्रदेशको संघीय संरचना
–    संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना
–    संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति
–    सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख
–    प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने
–    दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने
–    दुईतिहाइले संशोधन गर्न सकिने
–    मिश्रित निर्वाचन प्रणाली
–    केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्
–    प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य
–    केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्
–    राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य
–    प्रदेशमा एक सदनात्मक संसद्
–    ७ प्रदेशमा कुल सांसद ५५०
–    प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख
–    प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्त्रिपरिषद्
–    प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने
–    ३७ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान
–    प्रदेशको सीमांकन संघीय आयोगले ट’ंग्याउने
–    प्रदेशको नामकरण प्रदेश संसदको द’ईतिहाइले गर्ने
–    प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन ह’ने ।
–    संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन
–    प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।
–     एकीकृत न्यायपालिका
–    केन्द्रमा सर्वोच्च अदालत
–    सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने
–    प्रदेशपिच्छे उच्च अदालत
–    साबिक जिल्लामा जिल्ला अदालत
–    आमा वा बाब’को नामबाट वंशजको नागरिकता
–    धर्मनिरपेक्ष राष्ट्र
–    धर्मनिरपेक्षताको व्याख्या– धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झन’पर्छ
–    मधेसी, थारू, म’स्लिम, आदिवासी जनजातिका लागि छ’ट्टाछ’ट्टै आयोग
–     सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली
–    राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत्
–    जिल्ला प्रशासनिक इकाईका रूपमा रहने
–    जिल्लामा निर्वाचित जिल्ला सभा रहने
–    सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको प’न:संंरचना गर्ने
–    स्थानीय निकायमा अन्तरिम च’नाव गर्ने संक्रमणकालीन व्यवस्था
–    चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यका रूपमा रहने ।
–    ०७४ माघअगावै आमनिर्वाचन घोषणा भए उम्मेदवारी मनोनयनका दिनसम्म मात्र उनीहरूको कार्यकाल रहने ।
–    संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभाम’ख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था
प्रकाशित: भाद्र ३१, २०७२

माधवकुमार

एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आपूर्ति व्यवस्था सहज बनाउने काममा सहयोग गर्न भारतसंग आग्रह गरेका छन् ।  केही दिनयता भइरहेको अघोषित नाकावन्दीले  समस्या बढीरहेका अवस्थामा नेता नेपालले सार्वभौम मुलुकको पारवहन अधिकारको सम्मान गर्नसमेत भारतको ध्यानाकर्षण गराएका छन् । 'सार्वभौम मुलुकको पारवहन अधिकार दृष्टिबाट पनि आपूर्ति व्यवस्था निर्वाध रुपमा सञ्चालन  हुनुपर्छ' एमाले प्रचार विभागद्वारा आयोजित अन्तक्रिर्यामा नेता नेपालले भने, 'सिमा क्षेत्रमा ढुवानीमा देखिएको अवरोध अबिलम्ब हटाउन, निर्वाध रुपमा आवागमनको व्यवस्था सूचारु गर्न र आपूर्तिको व्यवस्था सहज बनाउने काममा सहयोग गर्न भारत सरकार लगायत सबैमा आग्रह गर्छु ।'
 उनले संविधान अमुर्त दस्तावेज नभएको उल्लेख गर्दै वार्तामा बसेर सहमति खोज्न मधेसी दलहरुलाई आग्रह गरे । संविधानमा भएका मुल्यमान्यता र व्यवस्थाहरुलाई राम्रसंग अध्ययन गरेर त्यसका  आधारमा धारणा बनाउन नेपालले आग्रह गरेका छन् । आफूले पनि तराई मधेसकै प्रतिनिधित्व गर्ने उल्लेख गर्दै इतिहासदेखि उत्पीडन र भेदभावमा परेका जनतालाई पहिलोपटक यही संविधानले अधिकार दिएको नेपालले बताए । 'आज तराई-मधेसमा आन्दोलन गरिएको छ । सरकारी सम्पत्ति देखि नेकपा -एमाले) लगायत विभिन्न दलका कार्यालय र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण, तोडफोड, आगजनी र लुटपाटसमेत गर्ने जस्ता निन्दनीय काम भएका छन्' नेपालले भने,'मधेसी जनतालाई अधिकार दिइएन भन्ने हौवा खडा गरेर त्यसैका आधारमा जनतालाई उत्तेजित पार्ने कोसिस भएको छ ।' संविधानले कुनै पनि अर्थ र प्रसंंगमा यसले मधेसका जनतामाथि भेदभाव नगरेको बताए । नागरिकता, प्रतिनिधित्व लगायतका बिषयमा गलत भ्रम फैलाइएकोले त्यसमा विश्वास नगर्न उनले आग्रह गरे ।
'नाकाबन्दी गरेर, साम्प्रदायिक सद्भाव विथोलेर, अवाञ्छित तत्वहरुलाई खेल्ने मौका दिएर समयको बर्बादी गर्न जरुरी  छैन । कुनै एउटा भू-भागमा बस्ने जनताले अर्को भू-भागमा बस्ने जनताका विरुद्धमा आन्दोलन गर्ने, उनीहरुलाई प्रताडित गर्ने, मुलुकलाई नै संकटमा धकेल्ने गरी नाकाबन्दी गर्ने जस्ता कुराले कसैको पनि भलो गर्दैन' नेता नेपालले भने,'मधेसमा अहिले जे भइरहेको छ, त्यसले राम्रो सन्देश दिइरहेको छैन । आन्दोलन सञ्चालन गर्ने दलहरुले त्यस्ता अवाञ्छित गतिविधिहरु तुरुन्त बन्द गर्नुपर्छ वा बन्द गर्न सक्दैनन् भने आफूलाई त्यसबाट अलग राख्नुपर्छ ।'
कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेलले छिमेकीद्वारा ज्यादती र पीडा थोपरिएको उल्लेख गर्दै त्यसका विरुद्ध सजग हुनुपर्ने बताए । उनले नाकाबन्दीको कुरा उठाउदै विश्व व्यापार संगठन, संयुक्त राष्ट्रसंघ, सार्क लगायतका सदस्य भएको मुलुक भएकाले त्यसअनुसार व्यवहार हुनुपर्ने उल्लेख गरे । 'हाम्रा गतिविधिमा कुनै अवरोध आउछ भने हामी प्रतिवाद गर्न तयार छौ' महासचिव पोखरेलले भने । उनले मंगलबार हुने राष्ट्रिय कार्यकर्ता भेलाबाट एमालेले संविधानका बिषयहरु बुझाउन जनता समक्ष परिचालिन हुने जानकारी दिए । एमालेका अगुवा कार्यकर्ताको राष्ट्रिय कार्यकर्ता भेला मंगलबार हुनेछ । त्यहा नेताहरुले  प्रशिक्षण दिनेछन् ।

विभागीय टिम आर्मीले राष्ट्रिय लिग फुटबलमा

विभागीय टिम आर्मीले राष्ट्रिय लिग फुटबलमा मंगलबार उपाधिको दाबेदार मनाङमस्र्याङदीमाथि १–० को जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको एकमात्र गोल नवयुग श्रेष्ठले गरे । टंक बस्नेतको पासमा कप्तान भरत खवासले प्रहार गरेको बल दिपेश यादवले फर्काएका थिए । त्यही बललाई नवयुगले १८ औं मिनेटमा पोष्टको दिशा दिए । त्यही गोल आर्मीलाई ३ अंक दिलाउन पर्याप्त रह्यो ।
दोस्रो हाफमा निरन्तर आक्रमण गरे पनि मनाङलाई आर्मीका गोलकिपर विकेश कुथुले निरन्तर राम्रा बचाउ गर्दै निरास पारेका थिए । मनाङले पाँच खेलयता पहिलो हार बेहोरेको हो । आर्मी र मनाङले पहिलो लेगमा १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

अघिल्लो खेलमा झापासँग १–० ले हारेको आर्मी आज मनाङविरुद्ध हात पारेको जितसँगै उपाधि होडमा फर्किएको छ । उसले ११ खेलमा २० अंक बनायो । झापा (१३ खेल २४ अंक) र थ्रीस्टार (११ खेल २२ अंक) शीर्ष दुईमा छन् । आर्मीले विहीबार थ्रीस्टारसँग खेल्नेछ ।

चौथो स्थानमा रहेको मनाङको १९ अंक (११ खेल) छ । एक खेल कम खेलेको एपीएफ १७ अंकसहित पाँचौंमा छ । दिनको पहिलो खेलमा पुलिसविरुद्ध ४–१ को जित हात पार्दै सुदूरपश्चिमले पनि १७ अंक जोड्यो । उसले १४ खेल खेलेको छ । सातौं स्थानमा रहेको पुलिसको १२ खेलमा १२ अंक छ ।

सुदूरपश्चिमलाई चौथो जित दिलाउन अनन्त तामाङ, शिव सुवेदी, विमल घर्तीमगर र तेज तामाङले गोल गरे । पुलिसको लागि जुमनु राईलदे सान्त्वना गोल गरे ।

नेपालले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै शुक्रबार

नेपालले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै शुक्रबार बिस्केकमा आयोजक किर्गिस्तानलाई
४–२ ले हराएर एएफसी यू–१६ च्याम्पियनसिपको छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
यो जितसँगै छनोटको नजिक पुगेको नेपाल ६ अंकसहित समूह ‘बी’ को शीर्षस्थानमा छ । नेपालले पहिलो खेलमा जोर्डनलाई २–१ ले पराजित गरेको थियो । जोर्डनले शुक्रबार ओमानमाथि २–० को जित हात पार्‍यो । समूहमा ओमान र जोर्डनको ३–३ अंक छ । नेपालले छनोटको अन्तिम खेलमा आइतबार ओमानको सामना गर्नेछ । सुरुको ३१ मिनेटभित्रै २–० ले पछि परेको नेपाललाई सब्स्टिच्युट दिनेश हेम्जनले दुई तथा रेजिन सुब्बा र मनीष कार्कीले एक–एक गोल गर्दै ३ अंक दिलाएका हुन् ।
अभिषेक रिजालले गोलकिपरलाई छक्याउँदै कठिन कोणबाट प्रहार गरेको बललाई घरेलु टिमका डिफेन्सले क्लियर गरेका थिए । त्यसपछि किर्गिस्तानले नेपाली गोलकिपर अर्पण कार्कीलाई निकै व्यस्त राख्यो । कार्कीले २३ मिनेटभित्र ६ राम्रा बचाउ गर्दै नेपालको संकट टारेका थिए ।
नेपालले २५ औं मिनेटमा अग्रता लिने राम्रो अवसर पाएको थियो । तर, रेजिन सुब्बाले एक्लै अघि बढाउँदै प्रहार गरेको बल पोस्टमा लागेर फर्कियो । त्यस रिबाउन्डमा पनि नेपालले राम्रो अवसर पाएको थियो । त्यसमा गोललाइन नजिकबाट प्रजेन गुरुङले प्रहार गरेको बल पोस्ट बाहिर गएको थियो ।
आक्रामक देखिएको किर्गिस्तानले २९ औं मिनेटमा अग्रता लियो । पेनाल्टी क्षेत्र बाहिर प्राप्त फ्रि–किकमा बोरुबाइभ गुल्झिटले प्रहार गरेको बलले सीधै जाली चुम्न पुगेको थियो । त्यसको दुई मिनेटपछि नै किर्गिस्तानले पेनाल्टी पायो र त्यसमा सिगाबाइभ इमिरले गोल गर्दै घरेलु टिमको अग्रता २–० बनाए ।
अघिल्लो खेलमा ओमानसँग २–० ले हारेको किर्गिस्तानले पहिलो हाफमा नेपाललाई दबाबमा राखेको थियो । दोस्रो हाफमा भने नेपाली टिमले आक्रामक रूप लियो । रेजिन सुब्बाले ५२ औं मिनेटमा प्रहार गरेको बल किपरले मुस्किलले बचाए ।
कप्तान मनीष कार्कीले ५५ औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काए । उनले रेजिनको पासमा पेनाल्टी क्षेत्र नजिकबाट बललाई पोस्टको दिशा दिएका थिए । त्यसपछि रेजिनले उत्कृष्ट कौशल देखाउँदै गोल गरेर ६७ औं मिनेटमा नेपाललाई २–२ को बराबरीमा पुर्‍याए । बराबरीपछि किर्गिस्तानी टिम केही सुस्तायो ।
दिनेशले बललाई उचाइ दिंदै गोल गरेर नेपाललाई ७३ औं मिनेटमा ३–२ को अग्रता दिलाए । उनले जोर्डनविरुद्ध २–१ को जितमा नेपालका तर्फबाट दुवै गोल गरेका थिए ।
अभिषेक रिजाललाई फल गरेपछि कप्तान मेलिसबेकोभ अजमतले ८५ औं मिनेटमा मैदान छाडेपछि किर्गिस्तान दस खेलाडीमा समेटिएको थियो । दिनेशले इन्ज्युरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको जित निश्चित गरेका थिए ।

आश्विन १२, २०७२-

आश्विन १२, २०७२- तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले ५ शर्त पूरा गरे सार्थक वार्ता थालिने बताएका छन् । वीरगन्ज कारागारमा रहेका पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलसँग मंगलबार भेट गर्न आएका अध्यक्ष ठाकुरले सेना, सशस्त्र प्रहरी फिर्ता, मधेस आन्दोलनका मृतकलाई शहीद घोषणा, घाइतेको उपचार, मृतक आश्रित परिवारलाई क्षतिपूर्ति, दंगाग्रस्त घोषणा फिर्ता हुनासाथ औपचारिक वार्ता थालिने उनले बताए ।
'सरकारले यी काम गरे तत्काल सार्थक वार्ता हुन्छ,' उनले भने, 'औपचारिक वार्तामा बस्न मोर्चा तयार छ ।' बुधबार गौरमा आयोजना हुने आमसभालाई सम्बोधन गरी आफू त्यही दिन राजधानी फर्किने उनले बताए । उनी गौरमा हुने सभाका लागि आएका हुन् ।
विगत ६ दिनदेखि भएको नाकाबन्दीका कारण जनताले सास्ती खेप्नु परेको जिज्ञासा राख्दा ठाकुरले सरकारले मधेसमा ४६ दिनदेखि नाकाबन्दी गरी ढुवानी गरेको बताए । 'मधेसमा कर्फ्यु लगाएर रातको समयमा ढुवानी गरे,' उनले भने, 'यता त ४६ दिनदेखि सरकारले नाकाबन्दी गरेको छ ।' मधेसका मुद्दामा विदेशीले हस्तक्षेप नभई सुभेक्षा प्रकट गरेको उनले प्रतिक्रिया दिए ।   
मुद्दा सुनवाईका लागि बाराको कलैया जानै लागेका सोनलसँग भेटी अध्यक्ष ठाकुरले सरकारी वार्ता टोलीसँग भएको प्रगतिबारे संक्षिप्त जानकारी गराएका थिए । मंगलबार विहान प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समेत फोन गरी भेट्न चाहेको उनले सोनललाई सुनाए । सहमहामन्त्री सोनलले यसपालीको वार्ता उधारो नभई नगदमै गर्न आग्रह गरेका थिए । राज्यले झुठा मुद्दा लगाएर आन्दोलनकारीलाई फसाएको उनले आरोप लगाए ।
विगत ६ दिनदेखि वीरगन्ज रक्सौल नाकामा जारी धर्नामा अध्यक्ष ठाकुर सहभागी भएका थिए । मितेरी पुलमा २ घन्टा धर्नामा बसे । त्यहाँबाट रक्सौल स्थित रेल्वे स्टेशनमा रेल चढेर उनी बैरगनिया नाका भएर रौतहटको गौर जाने कार्यक्रम रहेको पार्टीका कार्यकर्ताले बताए ।

सीमा सुरक्षा वल (एसएसवी)

सीमा सुरक्षा वल (एसएसवी) को कडाईका वावजुद पाँच दिनमा पूर्वी नाकावाट ६३ वटा कन्टेनर तथा ट्रक भित्रिएको छ ।
मेची भन्सार कार्यालयका अनुसार विहीवारदेखि सोमवारसम्म ६३ वटा ट्रक तथा कन्टेनरहरु भित्रिएको हो । अधिकृत दीपेन्द्र झाका अनुसार यसअघि ६३ वटा कन्टेनर एकै दिनमा भित्रिन्थ्यो । 'एकै दिनमा भित्रिने मालवस्तुलाई ४/५ दिन लागिरहेको छ', झाले भने । सवभन्दा वढी आलु वोकेको १८ वटा ट्रक भित्रिएको छ । इन्धनका १३, प्याजका ८, फलफूलका ७, सिमेन्ट वनाउने क्लिङकर ६, माछा ४, रेजिन ३ । कोदो २ ट्रक भित्रिएको हो । नेपाल भित्रने कन्टनेरहरुमा गरेको कडाई यथावत छ । शनिवार अघिल्ला दुई दिनको तुलनामा खुकुदो वनाएकोमा आइतवार पुनः कडाई गरेको हो ।  
'अव त सहज होला भनेको झन् कडाई शुरु भयो', स्थानीय भन्सार एजेन्ट रोसन अग्रवालले भने,'व्यापार चौपट्ट भइसक्यो ।' एसएसवीले आइतवार दिउसो रिक्सा र मोटरसाइकल आवागमन पनि कडाई गरेको थियो । नेपाल छिर्न नपाएर थन्किएको ५ सय वढी कन्टेनर र ट्रकको लामले पैदल यात्री र रिक्स्ाा आवात जावतमा समेत कठीनाई भएको छ । 'रिक्सामा चढ्न नसकेर पैदल जान खोजेको त्यो पनि गाह्रो भो', सिलिगुडीवाट झापातिर आउदै गरेका रामचन्द्र तिम्सिनाले भने,'नाकाको अवरोधले सर्वसाधारणले अनावश्यक सास्ती व्यहोर्नु परिरहेको छ ।'
भारतको पानीटयांकी भन्सारमा क्लिङकर, पेट्रोलियम, कोइला, मार्वोल र तरकारी वोकेका ५ सय वढी कन्टेनरहरु अझै अलपत्र छन् । 'इन्धन वोकेका ट्रकहरुलाई न जाँच गर्छ नछाड्छ', भारतको भन्सार एजेन्ट शरण राईले भने,'यसरी अनावश्यक सास्ती किन दिइरहेको छ हामी नै अन्यौलमा परेका छौ ।'

च्यानल निषेध गरिने

आश्विन १२, २०७२- नेकपा माओबादी चन्द समुहले नेपालमा भारतीय टेलीभिजन च्यानल बन्द गराएकोमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आपति जनाएको छ । सदियौंदेखि कायम नेपाल भारतको सम्बन्ध खलबलाउने सक्रिय भएकोप्रति ध्यानाकर्षण भएको मोर्चा पर्साका जनपरिचालन समिति संयोजक प्रदीप यादवले बताए ।
'जारी मधेश आन्दोलनमा विश्व समुदायबाट चौतर्फी सहयोग प्राप्त भईरहदा आन्दोलनको मुद्दालाई बंग्याउन दिगभ्रमित पार्न खोजेका छन्,' यादवले भने ।     चन्दको संगठनले नेपालमा प्रशारित भारतीय मेडिया र भारतीय सवारी साधनलाई बन्दको अवहान गरेको खबरले लोकतन्त्रमा जनताको स्वतन्त्रतामा अंकुश लगाउन खोजेको यादवद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । आम मानिसले कुन संचारमाध्य हेर्ने त्यो उसको स्वतन्त्रताको बिषय हो । कुनै समुह वा संगठनले त्यो निर्धाण गर्ने कुरा होइन् ।     
निर्णय नसच्चयाए मधेश क्षेत्रमा नेपाली भाषाका हरेक संचारमाध्यममा यहाँका जनताले प्रतिबन्ध लगाउने यादवले जनाए । 'काठमाडौं लगायतका पहाडी ठाउँमा २४  घण्टाभित्र पहिलेदेखि सञ्चालनमा रहेका भारतीय च्यानल पुनसूचारु नगराए हामी कडा कदमको लागि बाध्य हुन्छौं,' उनले भने, 'त्यस पछि नेपाली भाषाका सम्पुर्ण टेलीभिजन च्यानल र चलचित्र मधेशमा रोक लगाइने छ ।'