सीमा सुरक्षा वल (एसएसवी)

सीमा सुरक्षा वल (एसएसवी) को कडाईका वावजुद पाँच दिनमा पूर्वी नाकावाट ६३ वटा कन्टेनर तथा ट्रक भित्रिएको छ ।
मेची भन्सार कार्यालयका अनुसार विहीवारदेखि सोमवारसम्म ६३ वटा ट्रक तथा कन्टेनरहरु भित्रिएको हो । अधिकृत दीपेन्द्र झाका अनुसार यसअघि ६३ वटा कन्टेनर एकै दिनमा भित्रिन्थ्यो । 'एकै दिनमा भित्रिने मालवस्तुलाई ४/५ दिन लागिरहेको छ', झाले भने । सवभन्दा वढी आलु वोकेको १८ वटा ट्रक भित्रिएको छ । इन्धनका १३, प्याजका ८, फलफूलका ७, सिमेन्ट वनाउने क्लिङकर ६, माछा ४, रेजिन ३ । कोदो २ ट्रक भित्रिएको हो । नेपाल भित्रने कन्टनेरहरुमा गरेको कडाई यथावत छ । शनिवार अघिल्ला दुई दिनको तुलनामा खुकुदो वनाएकोमा आइतवार पुनः कडाई गरेको हो ।  
'अव त सहज होला भनेको झन् कडाई शुरु भयो', स्थानीय भन्सार एजेन्ट रोसन अग्रवालले भने,'व्यापार चौपट्ट भइसक्यो ।' एसएसवीले आइतवार दिउसो रिक्सा र मोटरसाइकल आवागमन पनि कडाई गरेको थियो । नेपाल छिर्न नपाएर थन्किएको ५ सय वढी कन्टेनर र ट्रकको लामले पैदल यात्री र रिक्स्ाा आवात जावतमा समेत कठीनाई भएको छ । 'रिक्सामा चढ्न नसकेर पैदल जान खोजेको त्यो पनि गाह्रो भो', सिलिगुडीवाट झापातिर आउदै गरेका रामचन्द्र तिम्सिनाले भने,'नाकाको अवरोधले सर्वसाधारणले अनावश्यक सास्ती व्यहोर्नु परिरहेको छ ।'
भारतको पानीटयांकी भन्सारमा क्लिङकर, पेट्रोलियम, कोइला, मार्वोल र तरकारी वोकेका ५ सय वढी कन्टेनरहरु अझै अलपत्र छन् । 'इन्धन वोकेका ट्रकहरुलाई न जाँच गर्छ नछाड्छ', भारतको भन्सार एजेन्ट शरण राईले भने,'यसरी अनावश्यक सास्ती किन दिइरहेको छ हामी नै अन्यौलमा परेका छौ ।'