आश्विन १२, २०७२- तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले ५ शर्त पूरा गरे सार्थक वार्ता थालिने बताएका छन् । वीरगन्ज कारागारमा रहेका पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलसँग मंगलबार भेट गर्न आएका अध्यक्ष ठाकुरले सेना, सशस्त्र प्रहरी फिर्ता, मधेस आन्दोलनका मृतकलाई शहीद घोषणा, घाइतेको उपचार, मृतक आश्रित परिवारलाई क्षतिपूर्ति, दंगाग्रस्त घोषणा फिर्ता हुनासाथ औपचारिक वार्ता थालिने उनले बताए ।
'सरकारले यी काम गरे तत्काल सार्थक वार्ता हुन्छ,' उनले भने, 'औपचारिक वार्तामा बस्न मोर्चा तयार छ ।' बुधबार गौरमा आयोजना हुने आमसभालाई सम्बोधन गरी आफू त्यही दिन राजधानी फर्किने उनले बताए । उनी गौरमा हुने सभाका लागि आएका हुन् ।
विगत ६ दिनदेखि भएको नाकाबन्दीका कारण जनताले सास्ती खेप्नु परेको जिज्ञासा राख्दा ठाकुरले सरकारले मधेसमा ४६ दिनदेखि नाकाबन्दी गरी ढुवानी गरेको बताए । 'मधेसमा कर्फ्यु लगाएर रातको समयमा ढुवानी गरे,' उनले भने, 'यता त ४६ दिनदेखि सरकारले नाकाबन्दी गरेको छ ।' मधेसका मुद्दामा विदेशीले हस्तक्षेप नभई सुभेक्षा प्रकट गरेको उनले प्रतिक्रिया दिए ।
मुद्दा सुनवाईका लागि बाराको कलैया जानै लागेका सोनलसँग भेटी अध्यक्ष ठाकुरले सरकारी वार्ता टोलीसँग भएको प्रगतिबारे संक्षिप्त जानकारी गराएका थिए । मंगलबार विहान प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समेत फोन गरी भेट्न चाहेको उनले सोनललाई सुनाए । सहमहामन्त्री सोनलले यसपालीको वार्ता उधारो नभई नगदमै गर्न आग्रह गरेका थिए । राज्यले झुठा मुद्दा लगाएर आन्दोलनकारीलाई फसाएको उनले आरोप लगाए ।
विगत ६ दिनदेखि वीरगन्ज रक्सौल नाकामा जारी धर्नामा अध्यक्ष ठाकुर सहभागी भएका थिए । मितेरी पुलमा २ घन्टा धर्नामा बसे । त्यहाँबाट रक्सौल स्थित रेल्वे स्टेशनमा रेल चढेर उनी बैरगनिया नाका भएर रौतहटको गौर जाने कार्यक्रम रहेको पार्टीका कार्यकर्ताले बताए ।